बाबर हयातको शतकमा हङकङको बलियो प्रदर्शन, नेपाललाई २६२ रनको लक्ष्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, भदौ २३ — एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत हङकङ, चीनले नेपालसामु २६२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरस्थित बायुआमास क्रिकेट ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।

हङकङको इनिङ्सलाई मध्यक्रमका ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय प्रदर्शनमार्फत सम्हाले। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतले अविजित ११७ रन बनाए।

एक समय १३३ रनमै ७ विकेट गुमाएर दबाबमा परेको हङकङलाई बाबर हयात र इहसान खानले उत्कृष्ट साझेदारीमार्फत उकासेका थिए। यी दुईले आठौँ विकेटका लागि अविजित १२८ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।

इहसान खानले ४६ बलमा ५ चौका प्रहार गर्दै ३५ रनको योगदान दिए।

हङकङका लागि शाहिद वासिफले ४९ बलमा ४५ रन बनाए। जिसान अलीले १५ तथा अंशुल राथले १३ रन जोडे।

नेपालका बलरमध्ये सन्दीप लामिछाने र शेर मल्ल प्रभावशाली देखिए। सन्दीपले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले १० ओभरमा १ मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट हात पारे।

नेपालका करण केसीले ६२ रन, ललित राजवंशीले ४७ रन, दीपेन्द्रसिंह ऐरीले ३६ रन तथा गुल्शन झाले ४० रन खर्चिए पनि विकेट लिन सकेनन्।

अब नेपालले खेल जित्नका लागि ५० ओभरमा २६२ रनको लक्ष्य पछ्याउनेछ। नेपालले केहीबेरपछि जवाफी ब्याटिङ सुरु गर्नेछ।

Leave a Comment