राप्रपा बारा जिल्ला अधिवेशन भोलि, सम्पूर्ण तयारी पूरा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बारा जिल्ला अधिवेशन भोलि भदौ २५ गते हुने भएको छ। अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राप्रपा बाराले जनाएको छ।

राप्रपा जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्षतामा मंगलबार कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले भदौ २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा व्यवस्थापनका कामहरू पूरा गरिएको नगर अध्यक्ष देवनारायण प्रसाद साहले बताउनुभयो।

साहका अनुसार अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र संघीय सांसद खुस्बु ओलीले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनका लागि प्रतिनिधि तथा सहभागीको समन्वय, प्रचार–प्रसार, मञ्च व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेका छन्।

अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको साहले बताउनुभयो।

जिल्ला अधिवेशनले बारामा पार्टी संगठनलाई थप मजबुत बनाउनुका साथै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने राप्रपा बाराले जनाएको छ।
नगर अध्यक्ष साहले भोलि हुने जिल्ला अधिवेशन सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गर्नुभएको छ।

Leave a Comment