काठमाडौं, भदौ २५, २०८३ । फिलिपिन्सको पालावान प्रान्तअन्तर्गत कोरोन क्षेत्रनजिक समुद्रमा यात्रुवाहक डुंगामा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन्।
एमभी जुन एस्टर नामको डुंगामा अचानक आगलागी भएको हो। घटनापछि फिलिपिन्स कोस्ट गार्डले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो। हालसम्म ४२ जनालाई सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
कोस्ट गार्डकी क्याप्टेन नोएमी कायब्याबका अनुसार डुंगामा कुल १३४ जना सवार थिए। तीमध्ये ११७ जना यात्रु र १७ जना चालक दलका सदस्य रहेका थिए।
आगलागीपछि पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८७ जना अझै सम्पर्कविहीन छन्। बेपत्ता भएकाहरूको खोजीका लागि कोस्ट गार्डले समुद्रमा उद्धार अभियानलाई निरन्तरता दिएको छ।
उद्धार गरिएका व्यक्ति तथा मृतकको विवरण संकलन भइरहेको छ। डुंगामा आगलागी कसरी भयो भन्नेबारे भने तत्काल खुलाइएको छैन।

