अस्पताल परिसरबाहिर बच्चा जन्माएको घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २५ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर एक महिलाले बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको टोली राजविराज जाने भएको छ।

घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको वास्तविकता पत्ता लगाउन स्थलगत छानबिन गर्न लागेको हो।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज प्रस्थान गर्ने भएको छ।

मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि छानबिन टोलीसँगै राजविराज जाने भएका छन्।
मन्त्रालयले घटनाका सम्बन्धमा अस्पतालसँग स्पष्टीकरणसमेत मागिसकेको छ। टोलीले अस्पताल पुगेर घटनाको स्थलगत अध्ययन गर्ने र सत्यतथ्य बाहिर ल्याउने मन्त्रालयले जनाएको छ।
छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

अस्पतालले पनि घटनाबारे छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। उपचारका लागि स्वास्थ्य संस्थामा आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

Leave a Comment