कलैया, भदौ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान परिस्थितिमा संसद पाँच वर्षसम्म निरन्तर चल्ने अवस्था नरहेको दाबी गरेका छन्।
राप्रपा बाराको पाँचौँ जिल्ला अधिवेशनलाई बिहीबार कलैयास्थित एभरेस्ट लजमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए। उनले राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर मात्रै देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा अघि बढाउन सकिने धारणा राखे।
देश अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै लिङदेनले नागरिकका आधारभूत आवश्यकता गाँस, बास र कपासको सहज व्यवस्थापनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले देश सुरुङभित्र फसेजस्तो अवस्थामा रहेको भन्दै त्यसबाट निकास निकाल्ने विषयलाई राज्यले उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा समेत उनले आफ्नो धारणा राखे। राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख राजनीतिक दलका नेताहरूले पनि कुनै दिन हिन्दु राष्ट्रको पक्षमा समर्थन जनाउने विश्वास व्यक्त गर्दै लिङदेनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने अभियानमा राप्रपा निरन्तर अघि बढ्ने बताए।
राप्रपा बारा जिल्ला अध्यक्ष गिरधारी चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथि लिङदेनले स्वर्गीय पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर गरेका थिए।
अधिवेशनलाई सम्बोधन गर्दै राप्रपा मधेस प्रदेश अध्यक्ष भरत गिरीले देशमा बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप लगाए। भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र कतिपय नेपाली भागेर ज्यान जोगाउन सफल भएको अवस्थामा समेत देशमा कृत्रिम रूपमा ग्यास अभाव सिर्जना गर्नु दुःखद भएको उनको भनाइ थियो।
अधिवेशनमा राप्रपा मधेस प्रदेश उपाध्यक्ष भरबहादुर मल्ल, सहमहामन्त्री मोहन यादव, राप्रपा बारा जिल्ला उपाध्यक्ष महावीर यादव, क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष ललन यादव, क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष बच्चाप्रसाद साह,नगर अध्यक्ष देवनारायण प्रसाद साह लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनले विनोदकुमार भारतीलाई राप्रपा बारा जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष गिरधारी चौधरीले जानकारी दिए।
कार्यक्रममा राप्रपा बारा जिल्ला तथा मधेस प्रदेशका पदाधिकारी, नेता–कार्यकर्ता र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

