प्रधानाध्यापक दुबेको निधनमा शिक्षक संघ र ब्राह्मण समाजद्वारा श्रद्धाञ्जली, कलैयाका विद्यालयमा आधा दिन शोक बिदा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, भदौ २५ । कलैया उपमहानगरपालिका–२५ सिसहनियास्थित श्री बौद्धीमाई आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर दुबेको निधनप्रति नेपाल शिक्षक संघ बारा र ब्राह्मण समाज बाराले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसैबीच, कलैया उपमहानगरपालिकाले दुबेको निधनमा भोलि शुक्रबार दिउँसो १ः३० बजेदेखि उपमहानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयमा आधा दिन शोक बिदा दिने निर्णय गरेको छ।

कलैया उपमहानगरपालिकाले जारी गरेको शोक वक्तव्यमा प्रधानाध्यापक दुबेको २०८३ भदौ २५ गते असामयिक निधन भएको जनाइएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै भदौ २६ गते शुक्रबार दिउँसो १ः३० बजेदेखि सबै सामुदायिक विद्यालयमा आधा दिन शोक बिदा दिने निर्णय गरिएको हो।

उपमहानगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, दुःखको यस घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले सामाजिक सञ्जालमार्फत प्रधानाध्यापक दुबेको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले दुबेलाई आदरणीय शिक्षकका रूपमा स्मरण गर्दै दिवंगत आत्माले स्वर्गमा बास पाओस् भन्ने कामनासहित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

त्यस्तै, ब्राह्मण समाज बाराका अध्यक्ष अनिलकुमार पाण्डेले पनि प्रधानाध्यापक दुबेको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। पाण्डेले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानाध्यापक दुबेको निधनले विद्यालय परिवार, शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूमा दुःख र शोकको अवस्था सिर्जना भएको छ।

Leave a Comment