बारा, २६ भदौ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १० जना प्रतिवादीमध्ये प्रोग्रेश चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बाँकी ९ जनालाई भने साधारण तारेखमा छाडिएको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेशसहित उनका परिवारका सदस्य र अन्य प्रतिवादीलाई रिहा गर्ने आदेश दिएको हो ।
अदालतका अनुसार घटनामा उनीहरूको संलग्नता पुष्टि गर्ने पर्याप्त ठोस प्रमाण नदेखिएपछि यस्तो आदेश गरिएको हो ।
रिहा हुनेमा प्रोग्रेशका बुबा इन्द्रजीत चौधरी, आमा बबिता चौधरी, पत्नी पुष्पा चौधरी, दिदी ममता चौधरी तथा सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन् ।
बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अदालतको आदेशसँगै १० जना बिहीबार साँझ रिहा भएका छन् ।
तर घटनामा पक्राउ परेका दुई बालकलाई भने अदालतले यसअघि नै पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ । थापा र खड्का थरका ती दुई बालकलाई वीरगन्जस्थित बाल सुधारगृहमा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार थापा थरका बालकले अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए । उनले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । उनको बयान घटनास्थल र शव भेटिएको अवस्थासँग मेल खाएको भन्दै प्रहरीले उनको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
अनुसन्धानका क्रममा उनले अर्को बालकको समेत संलग्नता रहेको बयान दिएका थिए । सोही क्रममा चिकित्सकसँग कुराकानी गरिरहेको अवस्थाको भिडियो बाहिरिएपछि घटनाले थप विवादको रूप लिएको थियो ।
भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विकमाथि वैयक्तिक गोपनीयता तथा विद्युतीय कारोबारसम्बन्धी कानुनअनुसार कारबाही अघि बढाइएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा साउन ३१ गतेदेखि हराएकी थिइन् । भदौ २ गते घरदेखि करिब एक सय मिटर दक्षिणतर्फको खाली घरमा उनको शव फेला परेको थियो । घटनापछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयदेखि देशभर आन्दोलन भएको थियो ।
भदौ ६ गते मृतकका बुबा मनोज र आमा मानमतीले सरकारी टोलीसँग वार्ता गरेपछि तीनबुँदे सहमति भएको थियो । त्यसको भोलिपल्ट भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो ।

