नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपमा स्थान सुरक्षित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, भदौ २७ — नेपालले यूएईलाई ४५ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।

शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधिसँगै आगामी एसिया कपमा आफ्नो स्थानसमेत पक्का गरेको हो।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा २६८ रनमै समेटियो। यूएईका राहुल चोप्राले ११५ रनको शतकीय पारी खेले पनि अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा टोली लक्ष्यसम्म पुग्न सकेन। शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट हात पारे। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार गरेको थियो।

नेपालको इनिङ्समा आसिफ शेख नायक बने। उनले १०६ बलको सामना गर्दै आठ चौका र चार छक्काको मद्दतमा १०४ रन बनाए। गुल्सन झाले ५२ रनको अर्धशतकीय योगदान दिए। अर्जुन कुमालले ४३ तथा कप्तान रोहित पौडेलले ४० रन बनाए।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले १५, इशान पाण्डेले १३ र सन्दीप जोराले सात रन जोडे। करण केसी र ललित राजवंशीले समान एक–एक रन बनाए।

यूएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तनवीरले दुई विकेट लिए। हैदर अली र अदीब उस्मानीले समान एक–एक विकेट लिए।
प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कप खेल्ने अवसरसमेत सुरक्षित गरेको छ। प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुने प्रावधानअनुसार नेपालले अब एसियाली क्रिकेटको ठूलो मञ्चमा प्रतिस्पर्धा गर्नेछ।

Leave a Comment