मञ्च छाडेको घटनामा भ्रामक प्रचार भयो : शिक्षामन्त्री पोखरेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, भदौ २८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिराहामा सुझाव सङ्कलनका क्रममा आफू कार्यक्रमस्थलबाट बाहिरिएको घटनालाई लिएर भ्रामक प्रचार गरिएको बताएका छन्।

शनिबार सिराहाको औहरीमा आयोजित शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा होहल्ला भएपछि मन्त्री पोखरेलले सम्बोधनकै क्रममा मञ्च छाडेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको भूमिकामाथि आलोचना भएको थियो।

आलोचनापछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले घटनाको छोटो भिडियो मात्र सार्वजनिक गरेर वास्तविक सन्दर्भलाई बङ्ग्याइएको दाबी गरेका छन्। उनका अनुसार कार्यक्रममा दुई जनाले हल्लाखल्ला गरेपछि सहभागीको सहभागिता प्रभावित हुने अवस्था सिर्जना भएकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।

मन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि घटनाको पूर्ण सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा हुने भ्रमपूर्ण प्रचारले शिक्षा सुधारको अभियानलाई प्रभावित गर्न नसक्ने स्पष्ट पारेका छन्।

उनका अनुसार सिराहा र सप्तरीमा भएका अन्तरक्रियामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासहित एक सयभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमपछि पनि शिक्षा सुधारका लागि सुझाव सङ्कलनको काम निरन्तर भइरहेको उनले जानकारी दिएका छन्।

मन्त्री पोखरेलले सिराहामा बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग समेत संवाद गरेको बताएका छन्। साथै विभिन्न विद्यालयमा पुगेर शिक्षा क्षेत्र सुधारका विषयमा सुझाव लिने काम भइरहेको उनको भनाइ छ।
मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढ्दै गएको विषय र शिक्षा क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि राख्ने पक्षबाट समेत भ्रम फैलाउने प्रयास हुनसक्ने मन्त्री पोखरेलको दाबी छ। तर सरकारले गरिरहेको कामको मूल्याङ्कन जनताले नै गर्ने भएकाले हल्लाभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशका विभिन्न जिल्लामा सुझाव सङ्कलन गरिरहेको छ।

यस क्रममा आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने लक्ष्य राखिएको ‘बुक फ्री फ्राइडे’ तथा ‘स्किल इन एजुकेसन’ लगायतका अवधारणाबारे पनि विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरोकारवालासँग सुझाव लिइँदैछ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले भदौ २४ गतेदेखि पहिलो चरणमा सातै प्रदेशका २८ जिल्लामा अन्तरक्रिया सुरु गरेको हो। पहिलो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ भने त्यसपछि दोस्रो चरणमा ७७ वटै जिल्लाका सरोकारवालासँग सुझाव सङ्कलन गर्ने तयारी गरिएको छ।

Leave a Comment