काठमाडौँ, ६ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि शुक्रबार बिहान भारत प्रस्थान गरेका छन्।
लामिछाने पत्नी निकिता लामिछानेसहित काठमाडौँबाट हवाईजहाजमार्फत कैलालीको धनगढी गएका हुन्। धनगढीबाट उनी भारत जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।
आध्यात्मिक तथा धार्मिक उद्देश्यले तय गरिएको यो भ्रमण तीन दिनको हुने सचिवालयले स्पष्ट पारेको छ। भ्रमणका क्रममा कुनै औपचारिक राजनीतिक भेटघाट वा अन्य राजनीतिक कार्यक्रम रहेको जानकारी सार्वजनिक गरिएको छैन।
सचिवालयले भ्रमणलाई पूर्णतः निजी तथा पारिवारिक तीर्थाटनका रूपमा व्याख्या गर्दै धार्मिक यात्रा सम्पन्न गरेपछि लामिछाने स्वदेश फर्किने जनाएको छ।
रास्वपाका सभापति लामिछानेको यो भ्रमणलाई उनको निजी तथा पारिवारिक धार्मिक यात्राका रूपमा लिइएको छ।
तीनदिने धार्मिक भ्रमणका लागि रवि लामिछाने भारत प्रस्थान
Leave a Comment
Leave a Comment

