१७ चैत,काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
१२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२.१ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीका लागि ओपनर वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै १७ बलमा ५२ रन बनाए। उनले आफ्नो इनिङमा ४ चौका र ५ छक्का प्रहार गरे।
अर्का ओपनर यशस्वी जैसवालले ३८ रनको योगदान दिए भने ध्रुव जुरेल १८ रनमा आउट भए। कप्तान रियान पराग १४ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए। चेन्नईका लागि अन्शुल कम्बोजले २ विकेट लिए।
यसअघि गुवाहाटीमा टस जितेर पहिले बलिङ रोजेको राजस्थानले चेन्नईलाई १९.४ ओभरमा १२७ रनमै समेटेको थियो। चेन्नईका लागि जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए। कात्तिक शर्मा र सरफराज खानले क्रमशः १८ र १७ रन जोडे पनि अन्य ब्याटरले खासै योगदान दिन सकेनन्।
चेन्नईको सुरुवात निकै कमजोर रह्यो। कप्तान रितुराज गायकवाडसहित शीर्ष क्रमका खेलाडीहरू छिट्टै आउट भएपछि टोली दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट गुमाउँदा चेन्नई ठूलो योगफल बनाउन असफल भयो।
राजस्थानका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २–२ विकेट लिए भने अन्य बलरहरूले पनि प्रभावशाली बलिङ गरे।
यस जितसँगै राजस्थानले प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ भने चेन्नईलाई पहिलो खेलमै हार व्यहोर्नुपरेको छ।

