हेटौँडा, असोज १ । बागमती प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा निकायको संगठन संरचना पुनरावलोकन गर्दै १३४ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै प्रदेशमा रहेका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार हाल कायम चार हजार ८१४ दरबन्दी घटाएर चार हजार ६८० मा सीमित गरिनेछ। यससँगै प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा रहेका १३४ पद खारेज हुनेछन्।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि आवश्यक संरचनाको खाका मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो। सोही आधारमा दरबन्दी पुनर्संरचना गरिनेछ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि २४ जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ। सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्मका पद समेटिएको उक्त अस्थायी दरबन्दी समितिको काम सम्पन्न भएपछि स्वतः समाप्त हुने व्यवस्था गरिएको छ।
त्यस्तै, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख तथा ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिएको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिएका छन्।

