काठमाडौं, असोज १ । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीच नेपालमा बाढीपछि गर्नुपर्ने पुनर्निर्माण तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार नयाँ दिल्लीमा भारतीय समकक्षी सीतारमणसँग भेटवार्ता गरेका हुन्। भारतीय वित्त मन्त्रालयमा भएको भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यसमेत सहभागी थिए।
भेटमा नेपाल र भारतबीच हुँदै आएको विकास सहकार्य, आर्थिक साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको भ्रमणमा सहभागी प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिए।
छलफलमा पछिल्लो समय नेपालमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकताका साथ उठाइएको थियो। त्यसैगरी नेपाल–भारतबीचको व्यापार, लगानी, ऊर्जा तथा यातायात र अन्य पूर्वाधारसँग सम्बन्धित कनेक्टिभिटीका विषयमा पनि कुराकानी भएको बताइएको छ।
दुवै देशबीच आर्थिक सहकार्यलाई अझ फराकिलो बनाउँदै नयाँ सम्भावनाको खोजी गर्ने विषयमा समेत अर्थमन्त्रीद्वयबीच विचारविमर्श भएको प्रतिनिधिमण्डलका सदस्यले जानकारी दिए।
नेपाल र भारतबीच आर्थिक तथा विकास साझेदारीका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको अवस्थामा अर्थमन्त्रीस्तरीय भेटवार्तामा त्यसलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको हो।

