डर्बी भिडन्तमा रियल म्याड्रिड स्तब्ध, एट्लेटिकोको २–१ को जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ५ । स्पेनिस ला लिगाको डर्बी खेलमा रियल म्याड्रिड एट्लेटिको म्याड्रिडसँग २–१ ले पराजित भएको छ।
गएराति भएको प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोले रियलमाथि जित निकाल्दै अंकतालिकामा महत्वपूर्ण तीन अंक जोडेको हो।

एट्लेटिकोको जितमा अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले गोल गरे भने रियलका लागि एन्टोनियो रुडिगरले एक गोल फर्काए।
पराजयसँगै रियल म्याड्रिड शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडि परेको छ।
बार्सिलोनाले जारी सिजनमा खेलेका सातै खेलमा जित निकाल्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ। एट्लेटिको भने रियलभन्दा एक अंकले अगाडि पुगेको छ।
यसैबीच, फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेलीलाई २–१ ले पराजित गरेको छ। पीएसजीका लागि ६६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।
७२औँ मिनेटमा एन्जल गोमेसले मार्सेलीका लागि बराबरी गोल गरे पनि दुई मिनेटपछि मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पीएसजीले सिजनको दोस्रो जित हात पारेको हो। लगातार पाँच सिजन लिग वानको उपाधि जितेको पीएसजी दोस्रो जितपछि तालिकाको छैटौँ स्थानमा पुगेको छ।
इङ्लिस प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेड फुलहमसँग १–१ को बराबरीमा रोकिएको छ।
खेलको ६३औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलपछि फुलहमले अग्रता लिएको थियो। तर खेल सकिन एक मिनेट बाँकी रहँदा म्याथ्युज कुन्हाले करिब २० यार्ड टाढाबाट गरेको प्रहार फुलहमका सेन्टर ब्याक डेभिड अफेनग्रुबरलाई लाग्दै गोलमा परिणत भएपछि युनाइटेडले हार टारेको हो।
बराबरीपछि म्यानचेस्टर युनाइटेडले पाँच खेलबाट पाँच अंक जोडेको छ भने फुलहम दुई अंकसहित तालिकाको १९औँ स्थानमा रहेको छ।

Leave a Comment