एसियाली खेलकुदमा नेपालको पदक यात्रा कमजोर, अधिकांश खेलाडी प्रारम्भिक चरणमै बाहिरिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ६ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। विभिन्न खेलमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी तथा टोलीहरू बलिया प्रतिद्वन्द्वीविरुद्ध पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिने क्रम जारी छ।
कबड्डीमा नेपालका पुरुष तथा महिला टोलीले बलिया टिमविरुद्ध प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेनन्। पुरुष कबड्डी टोलीले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ भने यसअघि इरान र पाकिस्तानविरुद्धको खेलमा नेपाली टोलीले चुनौती प्रस्तुत गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन।

करातेको महिला टिम कातातर्फ पनि नेपालले पदक जित्न सकेन। सानुमाया थिङ, मेघा लिम्बू र एलिसा रास्कोटी सम्मिलित नेपाली टोली रिपिचेज प्रतिस्पर्धामा चाइनिज ताइपेसँग ५–० ले पराजित भयो।

सफ्ट टेनिसको मिक्स्ड डबल्समा कमल भण्डारी र जर्जिया चौधरी दोस्रो चरणबाटै बाहिरिए। पौडीमा पनि नेपालका चार खेलाडीले हिट्स चरण पार गर्न सकेनन्।

महिला ५० मिटर ब्याकस्ट्रोकमा १५ वर्षीया आर्या महर्जन, पुरुष ५० मिटर फ्रिस्टाइलमा एर्भिन श्रेष्ठ, महिला २०० मिटर फ्रिस्टाइलमा डुआना लामा तथा पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा जेडेन श्रेष्ठले प्रारम्भिक चरणमै प्रतिस्पर्धा टुंग्याउनुपर्‍यो।

पदकको सम्भावना राखिएका जुडो, बक्सिङ र तेक्वान्दोमा सहभागी नेपाली खेलाडीहरूको प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन। ती विधामा प्रतिस्पर्धा गरेका अधिकांश खेलाडी पहिलो वा दोस्रो चरणबाटै बाहिरिएका छन्।

यससँगै एसियाली खेलकुदमा नेपालको पदकको सम्भावना कमजोर बन्दै गएको छ। बाँकी खेलमा नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्दै पदकको खडेरी अन्त्य गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment