प्रधानमन्त्री शाहलाई वाग्लेको बिदाइ, हातमा थमाए विश्व शक्तिको उदय–पतनबारे पुस्तक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज ६-संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन्।
बिदाइका क्रममा वाग्लेले शाहलाई अध्ययनका लागि विश्वका शक्तिशाली राष्ट्रहरूको उदय र पतनबारे लेखिएको पुस्तक उपहार दिएका छन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरको उडानबाट अमेरिका प्रस्थान गरेका हुन्। त्यसअघि प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर कार्यवाहक प्रधानमन्त्री वाग्लेले उनलाई बिदाइ गरेका थिए।

वाग्लेले बेलायती इतिहासकार पल केनेडीको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका हुन्। पुस्तकमा विश्वका शक्तिशाली राष्ट्रहरू कसरी उदाए र समयक्रममा किन कमजोर हुँदै गए भन्ने विषयलाई इतिहास, अर्थतन्त्र तथा सैन्य शक्तिको सम्बन्धका आधारमा विश्लेषण गरिएको छ।
शाह अमेरिका गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्। वाग्लेले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नेछन्।

यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार अमेरिका गएका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार पनि वाग्लेले सम्हाल्नेछन्।
प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनको असोज १० गते नेपाल फर्किने कार्यतालिका छ।

Leave a Comment