प्रधानमन्त्री बालेन्द्र शाहद्वारा एनपीएलको उद्घाटन, पहिलो खेलमै सुदूरपश्चिम दबाबमा

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ९ कात्तिक। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार आयोजित उद्घाटन समारोहमा सहभागी हुँदै उनले खेलाडीलाई हौसला प्रदान गरेका हुन्।
उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सुरुवाती ओभरमै तीन विकेट गुमाएको छ।
खेलको ४.४ ओभर समाप्त हुँदा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा २८ रन बनाएको छ। उसका विनोद भण्डारी ९ रन, आरिफ शेख शून्य र ब्रान्डन म्याकमुलेन २ रनमा आउट भएका छन्। लुम्बिनीका किशोर महतोले दुई तथा शेर मल्लले एक विकेट लिएका छन्।
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। पहिलो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम पराजित भएको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग हारेको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग उपाधि भिडन्तमा निराश बनेको थियो।
यसपटक उद्घाटन खेलमै गत संस्करणका फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदा खेललाई विशेष चासोका साथ हेरिएको छ। लुम्बिनीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन्। सुदूरपश्चिमका मुख्य प्रशिक्षक पाकिस्तानका पूर्वकप्तान मिस्बाह उल हक हुन्।
लुम्बिनीको टोलीमा रोहित पौडेल, सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी, दिलीप नाथ र किशोर महतोसहितका घरेलु खेलाडी छन्। विदेशी खेलाडीका रूपमा नामिबियाका रुबेन ट्रम्पेलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेला पनि टोलीमा छन्।
सुदूरपश्चिमको टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे र अविनाश बोहोरा छन्। विदेशी खेलाडीमा इंग्ल्यान्डका सैफ जैब, न्युजिल्यान्डका स्कट कुग्गेलाइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड रहेका छन्।
एनपीएलका अघिल्ला तीन भेटमा सुदूरपश्चिमले दुई खेल जितेको थियो। तर, अघिल्लो संस्करणको फाइनलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि हात पारेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। २७ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछन्।
प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसअघि विजेताले एक करोड १० लाख रुपैयाँ पाउँदै आएको थियो।

Leave a Comment