एसियाडमा नेपालको पहिलो जित, बक्सिङमा खगेन्द्र रोका मगर विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ७-जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो जित हात पारेको छ। बक्सिङका नेपाली खेलाडी खगेन्द्र रोका मगरले प्रारम्भिक चरणको खेलमा मकाउका खेलाडीलाई पराजित गर्दै जारी प्रतियोगितामा नेपालका लागि पहिलो जित दर्ता गराएका हुन्।

बुधबार निशिओ जिम्न्यासियममा भएको पुरुष ६० किलो तौल समूहको प्रतिस्पर्धामा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को अंकमा पराजित गरे।

खगेन्द्रको जितसँगै जारी एसियाडमा नेपाली खेलाडीले पहिलो सफलता हासिल गरेका छन्। नेपालले प्रतियोगितामा अहिलेसम्म पदक भने जित्न सकेको छैन।

नेपालले बुधबार विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछ। आज महिला कबड्डी टोलीको खेललाई विशेष चासोका साथ हेरिएको छ। समूह ‘बी’ अन्तर्गत नेपालले चिनियाँ ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ।

समूह ‘बी’मा नेपालसँगै चिनियाँ ताइपेई, श्रीलंका र थाइल्यान्ड रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ।

चिनियाँ ताइपेईविरुद्ध पनि जित निकाल्न सके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ। सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यसपटक पनि टोलीबाट पदकको अपेक्षा गरिएको छ।

महिला कबड्डीसँगै बुधबार नेपाली खेलाडीले पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा समेत प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार यसपटक एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका छन्।

Leave a Comment