काठमाडौं, २८ चैत । नेपालकी कराते खेलाडी एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन्।
सेमिफाइनलमा इटालीकी क्लेआ फेराकुट्टीलाई ८–३ ले पराजित गर्दै एरिका उपाधि नजिक पुगेकी हुन्। अब उनले फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन्। फाइनल खेल भोलि हुने तालिका छ।
यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा पनि एरिका र सोफियाबीच प्रतिस्पर्धा भएको थियो, जहाँ एरिका पराजित भएकी थिइन्।
क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८–० ले हराएकी थिइन्। समूह चरणमा उनले लगातार तीन खेल जितेकी थिइन्।
पहिलो खेलमा मोन्टेनेग्रोकी जोभाना डामजानोभिचलाई २–० ले पराजित गरिन्। दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभासँग १–१ को बराबरी भएपछि सेन्सुको आधारमा विजयी भइन्। तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २–१ ले हराउँदै उनले सेमिफाइनल यात्रा तय गरेकी थिइन्।

