भारी वर्षाको जोखिमपछि कलैयाका सबै विद्यालय दुई दिन बन्द

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, बारा, असोज ७ — लगातारको वर्षा र थप भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा निजी विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले असोज ८ र ९ गते नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थीको आवतजावतमा हुन सक्ने जोखिम र सम्भावित विपद्बाट बालबालिकालाई सुरक्षित राख्न विद्यालय बन्द गरिएको जनाइएको छ।
मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि भीषण वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयले पनि जोखिमयुक्त क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी आवश्यकतानुसार विद्यालय बिदा गर्न आग्रह गरेको थियो।
मन्त्रालयले सम्भावित विपद्को अवस्थामा सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ। साथै अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी, पहिरो तथा अन्य जोखिमयुक्त क्षेत्रमा जान नदिन अनुरोध गरिएको छ।
कलैया उपमहानगरपालिकाको निर्णयसँगै असोज ८ र ९ गते नगर क्षेत्रका विद्यार्थी नियमित विद्यालय जानुपर्ने छैनन्।

Leave a Comment