दक्षिण अफ्रिकामा दुई गोलीकाण्ड, २७ जनाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

असोज ११,दक्षिण अफ्रिकामा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ। घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ।

जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको आक्रमणमा मात्रै १७ जनाको मृत्यु भएको छ। मृतकमध्ये १३ पुरुष र चार महिला रहेको प्रहरीले जनाएको छ। घटनामा थप १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार करिब आठ जना हतियारधारी समूहले बारमा प्रवेश गरी त्यहाँ रहेका मानिसहरूको तलासी लिएका थिए। उनीहरूले केही ग्राहकका मोबाइल फोनसमेत लिएर दुईवटा अपरिचित सवारीसाधनमा भागेको बताइएको छ।

घटनापछि फरार हुनुअघि आक्रमणकारीहरूले प्रयोग गरेका दुईवटा सवारीसाधनमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ। गोलीकाण्डको उद्देश्यबारे तत्काल स्पष्ट हुन नसकेको र संलग्न व्यक्तिहरूको खोजीका लागि अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ।

यसैबीच, केप टाउननजिकैको एक टाउनसिपमा रहेको मनोरञ्जनस्थलमा आइतबार बिहान अर्को गोलीकाण्ड भएको छ। उक्त घटनामा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

दक्षिण अफ्रिकामा आपराधिक समूहबीचको द्वन्द्व, गिरोहगत गतिविधि तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेको बताइन्छ। देशमा कानुनी र अवैध दुवै माध्यमबाट हतियारको पहुँच रहेको छ।

करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा हत्या तथा हिंसाका घटना लामो समयदेखि गम्भीर सुरक्षा चुनौतीका रूपमा रहँदै आएका छन्। यसअघि पनि हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो।

Leave a Comment