रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कालिनिनग्रादमाथि प्रत्यक्ष सैन्य खतरा उत्पन्न भए रुसले आफ्नो सबै प्रकारका हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन्। उनले त्यसमा परमाणु हतियारसमेत पर्न सक्ने स्पष्ट संकेत गरेका छन्।
मस्कोमा बिहीबार आयोजित भल्दाई राजनीतिक मञ्चमा बोल्दै पुटिनले युक्रेनसँग लामो दूरीका आक्रमण रोक्ने विषयमा गरिएको युद्धविराम प्रस्तावप्रति असहमति जनाएका हुन्। युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई उनले अस्वीकार गरेका छन्।
पुटिनले यस्तो प्रस्तावलाई अव्यावहारिक भन्दै रुस वार्तामार्फत युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्। युक्रेनसँगको युद्ध समाप्त भएपछि उसलाई तटस्थ राष्ट्रका रूपमा हेर्न रुस इच्छुक रहेको उनको भनाइ छ।
रुसी राष्ट्रपतिले युक्रेनी आक्रमणका कारण रुसी तेल प्रशोधन क्षेत्रमा परेको प्रभावले देशको कुल गार्हस्थ उत्पादनमा करिब एक प्रतिशत असर परेको दाबी गरेका छन्। साथै, युक्रेनको ऊर्जा पूर्वाधारमाथि रुसले पनि आक्रमण गरिरहेको उनले स्वीकार गरेका छन्।
पोल्यान्ड र लिथुआनियाबीच रहेको रुसी भूभाग कालिनिनग्रादलाई रुसबाट अलग गर्ने वा त्यसमाथि प्रत्यक्ष आक्रमण गर्ने प्रयास भए त्यसलाई रुसले गम्भीर सुरक्षा चुनौतीका रूपमा लिने पुटिनको चेतावनी छ।
उनको यो भनाइ नेटोले सार्वजनिक गरेको रुसी कूटनीतिक नोटसम्बन्धी विवरणपछि आएको हो। उक्त नोटमा कालिनिनग्रादलाई रुसबाट अलग पार्ने प्रयास भए परमाणु हतियार प्रयोग गर्न सकिने चेतावनी दिइएको बताइएको छ।
यसबीच, नेटो महासचिव मार्क रुट्टेले परमाणु हतियार प्रयोगसम्बन्धी धम्की उपयुक्त नभएको प्रतिक्रिया दिएका छन्। पुटिनले भने द्वन्द्वका क्रममा बढ्दै गएको प्रतिशोधात्मक कदमले अवस्था नियन्त्रणबाहिर पुग्न सक्ने र गम्भीर तथा घातक मोडतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
कालिनिनग्रादमाथि खतरा आए परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी
Leave a Comment
Leave a Comment

