बाराको देवतालमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, १७ असोज । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

जितिया पर्वका अवसरमा महिला तथा बालबालिका पोखरीमा नुहाउने क्रममा शुक्रबार साँझ दुई बालिका बेपत्ता भएका थिए। घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर स्थानीय तथा आफन्तको सहयोगमा खोजी सुरु गरेको थियो।

खोजीका क्रममा साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनाराबाट करिब २० फिट दक्षिणतर्फ पानीमा दुवै बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाही बस्ने भोला पटेलकी करिब १४ वर्षीया छोरी निशा पटेल र सोही स्थानका राजेश पटेलकी करिब १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।
घटनाबारे जानकारी पाएलगत्तै बेनैलीस्थित प्रहरी टोली प्रहरी सहायक निरीक्षक धर्मेन्द्रकुमार कुर्मीको कमाण्डमा घटनास्थल पुगेको थियो। घटनास्थललाई सुरक्षित राखी जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खत्रीवडाको कमाण्डमा अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि प्रहरी टोली र सोको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a Comment