कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिले मतदान गर्ने, आजै उम्मेदवारी दर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, असोज २०-नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी हुने महाधिवेशन प्रतिनिधिको अन्तिम सङ्ख्या ७ हजार ११४ कायम भएको छ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिले मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै प्रतिनिधिको सङ्ख्या टुंगो लगाएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार नामावली प्रकाशनसँगै अब कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढेको छ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार मंगलबार बिहान मतदाता नामावलीमाथि दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिएको हो। त्यसपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण र दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
सोमबारको बन्दसत्रले पार्टीको संशोधित विधान पारित गरेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था भएको छ। यही संरचनाअनुसार नयाँ नेतृत्व तथा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुँदैछ।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको हो। मंगलबार र बुधबार बन्दसत्रका कार्यक्रम सञ्चालन हुनेछन् भने असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
प्रतिनिधिको सहजताका लागि २०० भन्दा बढी स्वयंसेवक
महाधिवेशनमा सहभागी प्रतिनिधिलाई आवश्यक सहयोग र व्यवस्थापनका लागि कांग्रेसले २०० भन्दा बढी स्वयंसेवक परिचालन गरेको छ।
स्वयंसेवक व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य गणेश लामाका अनुसार बन्दसत्र स्थलसँगै निर्वाचन हुने स्थानमा पनि स्वयंसेवक खटाइएको छ। देशका विभिन्न जिल्ला तथा विदेशबाट आएका प्रतिनिधिलाई आवतजावत, व्यवस्थापन तथा आवश्यक जानकारी उपलब्ध गराउन स्वयंसेवक परिचालन गरिएको उनले बताए।
महाधिवेशनका लागि करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेको कांग्रेसले जनाएको छ। अन्तिम मतदाता नामावलीमा भने निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४ कायम भएको हो।

Leave a Comment