आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा दुई त्रिकोणात्मक सिरिज खेल्ने तालिका सार्वजनिक भएको छ।
२५ चैत,काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले खेल्ने दुई घरेलु त्रिकोणात्मक सिरिजको नयाँ तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पश्चिम एसियाको अस्थिर अवस्थाका कारण स्थगित भएका खेलहरूको नयाँ मिति तय गर्दै तालिका सार्वजनिक गरेको हो।
पहिलो सिरिज नेपाल, ओमान र यूएईबीच हुनेछ। यसअघि फागुन २६ गतेदेखि सुरु हुने तय भएको उक्त सिरिज अब वैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। नेपालले उद्घाटन खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले ओमानसँग खेल्नेछ भने पुनः यूएई र ओमानसँग क्रमशः प्रतिस्पर्धा गर्ने तालिका छ।
पहिलो सिरिज सकिएको एक सातापछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अर्को त्रिकोणात्मक सिरिज आयोजना हुनेछ। यो सिरिज वैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ। नेपालले पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अमेरिका र पुनः स्कटल्यान्ड तथा अन्तिम खेलमा अमेरिकासँग खेल्नेछ।
दुवै सिरिजका सबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन्। कुल १२ खेल आयोजना गरिनेछ।
लिग–२ मा नेपालले हालसम्म २० खेल खेलेर ५ जितसहित १२ अंक जोडेको छ र अंक तालिकामा सातौं स्थानमा रहेको छ। अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने २६ खेल खेलेको स्कटल्यान्ड ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ।
यस्तै २२ खेल खेलेको ओमान २७ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट १० अंक जोडेको यूएई तालिकाको पुछारमा रहेको छ।

