सिरहा, १२ माघ — सिरहामा पोस्टमार्टम प्रक्रियामा भएको गम्भीर त्रुटिका कारण दुई किशोरीको शव साटिएको घटना सार्वजनिक भएको छ। एक परिवारले आफ्नै छोरी ठानेर अर्कैको शव दाहसंस्कार गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आएको हो।
माघ १० गते गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा बानियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लहानस्थित रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल पठाएको थियो।
सोही दिन अर्को एक १६ वर्षीया किशोरी राधिका साह को शव पनि पोस्टमार्टमका लागि सोही अस्पतालमा ल्याइएको थियो।
कसरी भयो गडबडी?
अस्पतालमा पोस्टमार्टमपछि एक शव बाहिर निकालियो, जसलाई राधिकाको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कारका लागि लगे। तर पछि खुलेअनुसार त्यो शव राधिकाको नभई निशाको रहेछ।
निशाका आमा–बुबा भारतको मुम्बईमा रहेकाले पोस्टमार्टम प्रक्रिया उनीहरू आएपछि मात्रै अगाडि बढाइएको थियो। सोमबार बिहान उनीहरू घर आइपुगेपछि दिउँसो पोस्टमार्टम गर्न खोज्दा अस्पतालमा रहेको शव राधिकाको भएको पत्ता लाग्यो। यसबाट राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य बाहिरियो।
अस्पतालको दाबी बनाम परिवारको आरोप
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जित झाले भने निशाकै परिवारले शव बुझेको र पछि आफ्नो नभएको दाबी गरेपछि मात्रै हेरफेर भएको थाहा भएको बताएका छन्।
तर पीडित परिवार र स्थानीयवासीले अस्पतालको चरम लापरबाहीका कारण यस्तो संवेदनशील गल्ती भएको आरोप लगाएका छन्।
स्थानीयको आक्रोश, राजमार्ग अवरुद्ध
घटनापछि आक्रोशित स्थानीय र आफन्तहरूले गोलबजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए। केही समय राजमार्ग अवरुद्धसमेत भएको थियो। प्रदर्शनकारीहरूले चिकित्सक र अस्पताल व्यवस्थापनमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रहरी भन्छ: दोषी उम्किन्नन्
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पाल ले घटनाको अनुसन्धान भइरहेको र दोषी देखिएका व्यक्ति वा निकायलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।
यो घटना स्वास्थ्य संस्थामा शव पहिचान र व्यवस्थापन प्रक्रियामा गम्भीर प्रश्न उठाउने खालको बनेको छ।






