यमनको राष्ट्रपति भवनमा हुथीको क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ३०। यमनको अदेनस्थित राष्ट्रपति भवनलाई लक्षित गरी हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

आक्रमणका बेला प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरू भवन परिसरमै रहे पनि उनीहरू सकुशल रहेको जनाइएको छ।
इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी अदेनस्थित अल मासिक प्यालेसलाई लक्षित गरी पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
यमनको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा प्रधानमन्त्री साया मोहसेन अल–जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच जनाको ज्यान गएको छ। मृतकमा सुरक्षाकर्मीका साथै सरकारी परिसरमा कार्यरत कर्मचारीसमेत रहेका छन्।
हुथी विद्रोहीले राष्ट्रपति भवन परिसरभित्र रहेको साउदी सैन्य अभियान सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। विद्रोहीका अनुसार साउदी सैन्य उपस्थिति रहेका स्थानलाई निशाना बनाउने रणनीतिअन्तर्गत यो हमला गरिएको हो।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले भने आक्रमणमा प्रयोग गरिएका क्षेप्यास्त्रको प्रकार र राष्ट्रपति भवन परिसरमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यमनमा जारी द्वन्द्वका बीच भएको यो आक्रमणलाई सरकारविरुद्धका ठूला हमलामध्ये एक मानिएको छ। यमन सरकारले यसै महिनाको सुरुवातमा हुथी विद्रोहीविरुद्ध ‘यमेन्स डन’ नामक नयाँ सैन्य अभियान सुरु गरेको थियो। त्यसपछि सरकारी पक्ष र विद्रोहीबीचको तनाव थप चर्किएको छ।

सन् २०१४ मा हुथी विद्रोहीले यमनको आधिकारिक राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अदेनलाई आफ्नो अन्तरिम राजधानीका रूपमा प्रयोग गर्दै आएको छ। त्यसयता साउदी अरबले हुथीविरुद्धको संघर्षमा यमन सरकारलाई सहयोग गर्दै आएको छ।
हुथी विद्रोहीले पछिल्लो आक्रमणलाई साउदी सैन्य उपस्थितिविरुद्धको कारबाहीको निरन्तरताका रूपमा व्याख्या गरेको छ। यस घटनाले यमनमा जारी संघर्ष थप गहिरिन सक्ने चिन्ता बढाएको छ

Leave a Comment