किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो, हिमेश पन्तको उजुरीपछि दुवै पक्षबीच छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ३१। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार बिहान नक्खुस्थित निवासबाट कार्यालय लगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा हास्यकलाकार हिमेश पन्तले प्रकाशित समाचारबाट आफ्नो चरित्र हत्या भएको भन्दै दिएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि ब्युरोमा उपस्थित गराएको हो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले श्रेष्ठलाई पक्राउ नगरिएको, छलफलका लागि कार्यालय ल्याइएको दाबी गरेका छन्। उनका अनुसार उजुरीकर्ता पन्त पनि ब्युरोमा उपस्थित छन् र दुवै पक्षबीच छलफल भइरहेको छ।

प्रहरीले आफूलाई घरबाटै लैजान लागेको समयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत समाचार प्रकाशन गरेको विषयलाई लिएर आफूलाई नियन्त्रणमा लिन खोजिएको बताएका थिए। घटनापछि पत्रकारको पक्राउ वा नियन्त्रणलाई लिएर प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विषयसमेत चर्चामा आएको छ।
यसैबीच, जनआस्थाले पनि हिमेश पन्तविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। संस्थाले सामाजिक सञ्जालमार्फत आफ्नो अध्यक्ष तथा सम्पादकलाई लक्षित गरी व्यक्तिगत बेइज्जती, अपमान र घृणा फैलाउने प्रकृतिका सामग्री प्रकाशित गरिएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐनअनुसार कारबाहीको माग गरेको छ।

घटनाप्रति नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्। उनले पत्रकारलाई समाचार प्रकाशन गरेको विषयमा नियन्त्रणमा लिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन्।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि समाचारप्रति असन्तुष्टि भए उजुरीको प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा बिदाको दिन पत्रकारलाई नियन्त्रणमा लिन खोजिएको भन्दै आलोचना गरेकी छन्।
श्रेष्ठ यसअघि पनि गत साउन २७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसबेला उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री जफत गरिएको थियो। बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
पछिल्लो घटनामा एकातिर प्रकाशित समाचारबाट चरित्र हत्या भएको भन्दै उजुरी परेको छ भने अर्कोतिर सामाजिक सञ्जालमा अपमानजनक सामग्री प्रकाशित गरिएको आरोपमा सम्बन्धित पक्षविरुद्ध पनि उजुरी परेको छ। दुवै पक्षका उजुरीमाथि साइबर ब्युरोले छलफल गरिरहेको छ।

Leave a Comment