काठमाडौं, असोज ३ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संविधानको अक्षर र भावना दुवैलाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले नागरिकसँग गरेका प्रतिबद्धता पूरा गर्दै देशमा सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।
उनले संविधान जति राम्रो भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेतृत्व र जिम्मेवार पक्ष इमानदार हुनुपर्नेमा जोड दिए। संविधानलाई केवल कागजमा सीमित नराखी व्यवहारमै लागू गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले सुशासनलाई नाराका रूपमा मात्र नभई व्यवहार र कामबाट प्रमाणित गर्नुपर्ने बताए। सरकारले भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य र सुशासन कायम गर्ने दिशामा काम गरिरहेको उनले उल्लेख गरे।
देशलाई नयाँ ढंगबाट अघि बढाउन पुरानै कार्यशैली र परिपाटी निरन्तरता दिन नसकिने बताउँदै प्रधानमन्त्री शाहले सरकार परिवर्तनको सुरुवातमा रहेको धारणा राखे।
‘संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने, ‘यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्ने काम अझै बाँकी छ। सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ।’
उनले सरकार पुरानै बाटोमा नहिँड्ने र नागरिकको अपेक्षाअनुसार शासन व्यवस्थालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

