गोकर्णेश्वरमा कुशे औँसीको घुइँचो, पितृलाई तर्पण र पिण्डदान गर्ने भक्तजनको भीड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २६ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पिताप्रति श्रद्धा अर्पण गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा भक्तजनले दिवंगत पिताको सम्झनामा तर्पण, आमान्न तथा पिण्डदान गर्दै श्रद्धा व्यक्त गरिरहेका छन्। कुशे औँसीका दिन गोकर्णेश्वरमा पितृको श्राद्ध तथा तर्पण गरेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास छ।

धार्मिक परम्पराअनुसार यस दिन वर्षभरिका धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने चलनसमेत छ। कुशलाई भगवान् विष्णुको स्वरूपका रूपमा मानिने धार्मिक विश्वास रहेको छ।

गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थस्थलमा श्राद्ध तथा तर्पण गरे पितृले मुक्ति पाउने धर्मशास्त्रीय मान्यता छ।

बौद्ध धर्मावलम्बीसमेत बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने परम्परा रहेको बौद्ध धर्मगुरु ऐतमान लामाले बताए। उनका अनुसार गोकर्णेश्वर महादेवको दर्शन गर्दा दिवंगत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ।

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई गोकर्णे औँसीसमेत भन्ने गरिन्छ। पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेको धार्मिक मान्यताका कारण दुवै तीर्थस्थलको दर्शन गर्ने परम्परा रहेको बताइन्छ।

Leave a Comment