द्वन्द्वरहित वातावरणमै चुनाव गराउने सरकारको तयारी : गृहमन्त्री अर्याल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९पुस,सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख प्राथमिकता कुनै पनि प्रकारको द्वन्द्व उत्पन्न हुन नदिई तोकिएको मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते निर्वाचन गराउने लक्ष्यसहित सरकार तीव्र तयारीमा जुटेको जानकारी दिए। गृह मन्त्रालय तथा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो।

उनले संसद् विघटनपछि छ महिनाभित्र निर्वाचन हुनुपर्ने संवैधानिक मर्मअनुसार सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै स्वच्छ, शान्तिपूर्ण र निर्भय प्रतिस्पर्धाको वातावरण तयार गर्न लागेको बताए।
“हाम्रो मूल रणनीति भनेकै कुनै पनि अवस्थामा द्वन्द्व हुन नदिनु हो,” गृहमन्त्री अर्यालले भने, “देशलाई असहज अवस्थाबाट सामान्यतर्फ लैजान शान्त राजनीतिक वातावरणमै चुनाव सम्पन्न गरिन्छ।”

जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा पनि बोल्दै उनले आन्दोलनका सहिदहरूको पहिचान गरी सबैको नाम राजपत्रमा प्रकाशित भइसकेको जानकारी दिए। शहीद परिवारलाई राहत तथा सहयोग प्रदान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ थियो।

गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासनका लागि जेनजी पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनु अपरिहार्य रहेको उल्लेख गरे। जेनजी पुस्ता कुनै दल विशेषको नभई सम्पूर्ण राष्ट्रको साझा शक्ति भएकाले उनीहरूको सिर्जनशीलता, ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

सरकारले शान्ति, सुरक्षा र लोकतान्त्रिक प्रक्रियाको संरक्षणलाई सँगसँगै अघि बढाउँदै मुलुकलाई स्थायित्वतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको भनाइ थियो।

Leave a Comment