५ माघ,काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। देशभरका ८८ मुख्य निर्वाचन अधिकृत कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालय गरी जम्मा १६५ वटै कार्यालयमा आवश्यक तयारी सम्पन्न भएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारको नाम अन्तिम मतदाता नामावलीमा छ–छैन भन्ने रुजुका लागि आवश्यक सामग्री सबै कार्यालयमा पुगिसकेको छ। मङ्गलवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ।
सम्पत्ति विवरण अनिवार्य, स्वघोषणा गर्नुपर्ने
यसपटक निर्वाचन आयोगले आचारसंहितामै उल्लेख गरी सम्पत्ति विवरण अनिवार्य गरेको छ। उम्मेदवारले चल–अचल सम्पत्ति, बैंक खाता, सेयर, ऋण लिएको वा दिएको विवरण सिलबन्दी गरी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
साथै उम्मेदवारले
आचारसंहिता पालना गर्ने
कानुनअनुसार अयोग्य ठहरिए उम्मेदवारी रद्द हुन मञ्जुर हुने
निर्वाचनसम्बन्धी सबै कानुनी व्यवस्था पालना गर्ने
भन्ने विषय स्वघोषणापत्रमा अनिवार्य उल्लेख गर्नुपर्नेछ।
मनोनयन दर्ताका लागि आवश्यक १३ कागजात
निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको छ। मुख्य कागजातहरू यस प्रकार छन् :
नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
सरकारी, प्रदेश वा स्थानीय तहअन्तर्गत बहाल भएमा राजीनामाको निस्सा
प्रस्तावक र समर्थकसहितको मनोनयनपत्र
दलबाट उम्मेदवार भए आधिकारिक मनोनयनपत्र
संयुक्त दलका हकमा एकल चुनाव चिह्नसम्बन्धी औपचारिक पत्र
१० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद
महिला, दलित, अल्पसङ्ख्यक र आर्थिक रूपमा विपन्नलाई ५०% छुट
विपन्न उम्मेदवारका लागि स्थानीय तहको सिफारिस पत्र
सिलबन्दी सम्पत्ति विवरण
वैयक्तिक विवरण फारम
कुनै निकायबाट लिएको पेस्की फर्छ्यौटको निस्सा
बेरुजु फर्छ्यौटको निस्सा (भएमा)
निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्र
मनोनयनदेखि अन्तिम नामावलीसम्मको कार्यतालिका
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार :
माघ ६ गते :
बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता
बेलुकी ५–७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशन
माघ ७ गते :
बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता
माघ ८ गते :
उजुरीमाथि जाँचबुझ र निर्णय
बेलुकी ५–७ बजेसम्म संशोधित नामावली प्रकाशन
माघ ९ गते :
बिहान १०–१ बजेसम्म नाम फिर्ता
दिउँसो १–३ बजेसम्म अन्तिम नामावली प्रकाशन
दिउँसो ४–७ बजेसम्म निर्वाचन चिह्न प्रदान
निर्वाचन आयोगले सबै उम्मेदवारलाई कानुन र आचारसंहिता पालना गर्दै समयमै आवश्यक कागजातसहित मनोनयन दर्ता गर्न आग्रह गरेको छ।

