काठमाडौं, माघ ६ — आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पनि नेपाली कांग्रेसले ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा उम्मेदवार तय गरिसकेको कांग्रेस केही संवेदनशील क्षेत्रको निर्णयमा अझै अलमलिएको देखिएको छ।
कांग्रेस स्रोतका अनुसार सुदूरपश्चिमको कैलाली–४ मा उम्मेदवार छनोट विशेष चासोको विषय बनेको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश पर्ने भएकाले यो क्षेत्रमा टिकट वितरणलाई लिएर नेतृत्व तहमा थप छलफल भइरहेको छ। यसअघि प्रदेश सभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाउने तयारी भए पनि अन्तिम निर्णय हुन सकेको छैन।
यसैगरी हिमाली जिल्ला मुस्ताङमा पनि कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन। राजधानी काठमाडौंका चार निर्वाचन क्षेत्र—काठमाडौं–१, २, ३ र ७—मा पनि आन्तरिक सहमति जुट्न बाँकी रहेको बताइएको छ।
त्यस्तै भक्तपुर–१, चितवन–१ र पर्सा–२ मा समेत उम्मेदवार चयन हुन नसक्दा ती क्षेत्रमा कांग्रेसको चुनावी तयारी अपूरो देखिएको छ।
पार्टी नेतृत्वले बाँकी क्षेत्रका उम्मेदवार छिट्टै टुंग्याउने दाबी गरे पनि अन्तिम सूची कहिले सार्वजनिक हुन्छ भन्नेमा अझै स्पष्टता देखिएको छैन।






