अन्तिम क्षणमा कुलमान रास्वपामा, वैकल्पिक शक्ति एकै राजनीतिक धारमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१४ पुस, काठमाडौं ।
वैकल्पिक राजनीतिक धारलाई एक ठाउँमा ल्याउने प्रयास अन्ततः निर्णायक मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएसँगै रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच बनेको राजनीतिक समीकरण थप सुदृढ भएको छ ।

यसअघि रास्वपा, बालेन्द्र शाहको समूह र विवेकशील साझा पार्टीबीच एकता भइसकेको थियो । सोमबार कुलमान घिसिङ पनि उक्त एकता प्रक्रियामा जोडिएपछि पुराना राजनीतिक दलविरुद्ध उभिएका प्रमुख वैकल्पिक शक्तिहरू करिब एउटै राजनीतिक मोर्चामा केन्द्रित भएका छन् ।

जेन–जीको दबाबपछि सहमति

एकता सहज भने थिएन । पद बाँडफाँट र भूमिकालाई लिएर मतभेद बढ्दै गएपछि आइतबार रातिसम्म पनि सहमति जुट्न सकेको थिएन । उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको थियो भने रास्वपा पनि आफ्नै तयारीमा जुटेको थियो ।

यहीबीच जेन–जी आन्दोलनका अगुवाहरू सक्रिय बने । द काउन्सिल अफ जेन–जीका अगुवा सुदन गुरुङ, जेम्स कार्की र ओजस्वी थापाले कुलमान घिसिङलाई बौद्धस्थित होटलमै पुगेर भेटे र “जसरी पनि मिल्नुपर्ने” दबाब दिए । उनीहरूले कुलमानलाई गाडीमै राखेर त्रिपक्षीय वार्तास्थल पुर्‍याएपछि संवाद पुनः सुरु भएको हो ।

जेन–जी अगुवाहरूका अनुसार, वैकल्पिक शक्तिहरू अलग–अलग चुनावमा जाँदा आन्दोलन नै कमजोर हुने खतरा देखिएकाले उनीहरूले सबै पक्षलाई एक ठाउँमा ल्याउन निर्णायक भूमिका खेलेका हुन् ।

फोन नउठाउने अवस्थादेखि सहमतिसम्म

एकताअघि अन्तिम चरणमा कुलमान र रवि लामिछानेबीच संवाद समेत अवरुद्ध भएको थियो । बौद्धस्थित बैठक चलिरहँदा रवि लामिछानेको फोन पटक–पटक आए पनि कुलमानले नउठाएको बताइन्छ । “खाली कुरा मात्रै गर्छन्, मिल्ने हुँदैन,” भन्दै उनी निराश देखिएको कुलमाननिकट नेताहरू बताउँछन् ।

तर, जेन–जी अगुवाहरूको पहलपछि वातावरण एकाएक बद्लियो । पहिले वार्ता छोडेर एक्लाएक्लै अघि बढ्ने तयारीमा रहेका नेताहरू पुनः एउटै टेबलमा बसेपछि सहमतिको बाटो खुलेको हो ।

पद र भूमिकामा सहमति

अन्ततः सात बुँदे सहमतिसँगै एकता सम्भव भयो । सहमतिअनुसार:

रवि लामिछाने रास्वपाको सभापति रहने

बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार बन्ने

कुलमान घिसिङ सभापतिपछिको पहिलो वरियताको उपसभापति रहने

समानुपातिक सूचीमा उज्यालो नेपाल पार्टीबाट १८ जना र बालेन पक्षबाट ४० जनालाई समेट्ने भद्र सहमति पनि भएको छ ।

लामो समयको असमझदारी

यसअघि कुलमान र रास्वपाबीच सभापतिको विषयमै अड्किँदै संवाद असफल हुँदै आएको थियो । कुलमानले आफ्नो राजनीतिक अस्तित्व पूर्ण रूपमा समाप्त हुने गरी रास्वपामा विलय हुन नसकिने अडान राखेका थिए । रास्वपाले आफूहरूलाई अवमूल्यन गरेको निष्कर्ष उज्यालो नेपाल पार्टीले निकालेको थियो ।

तर, चुनावी यथार्थ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनैपर्ने दबाबका कारण अन्ततः दुवै पक्ष लचक बने ।

वैकल्पिक राजनीतिमा नयाँ मोड

कुलमान घिसिङको प्रवेशसँगै रास्वपा केवल एउटा दल मात्रै नभई वैकल्पिक राजनीतिक आन्दोलनको केन्द्र बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् । कुशासनविरुद्ध उभिने, योग्यता प्रणाली स्थापित गर्ने र पुराना दलहरूको वर्चस्व तोड्ने साझा उद्देश्यसहित अब यी शक्तिहरू एउटै राजनीतिक यात्रामा अघि बढ्ने भएका छन् ।

अबको मुख्य चुनौती भनेको सहमतिलाई व्यवहारमा उतार्दै जनअपेक्षा पूरा गर्नु रहेको नेताहरूको भनाइ छ ।

Leave a Comment