२२ पुस २०८२, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेपछि उनका छोरा तथा सांसद निकोलस मादुरो गुएराले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुन र विश्व राजनीतिक स्थिरतामाथिको गम्भीर खतरा भएको बताएका छन्।
मादुरो गुएराले अमेरिकी कदमको कडा आलोचना गर्दै भनेका छन्, “यदि कुनै देशका निर्वाचित राष्ट्रपतिको अपहरणलाई सामान्य अभ्यास बनाइयो भने संसारको कुनै पनि राष्ट्र सुरक्षित रहने छैन।”
उनका अनुसार आज भेनेजुएलामाथि गरिएको कारबाही भोलि बाह्य दबाब स्वीकार नगर्ने अन्य कुनै पनि देशमाथि दोहोरिन सक्छ। “यो केवल एक देश वा क्षेत्रको विषय होइन, बरु सम्पूर्ण विश्व राजनीतिक स्थिरताका लागि सिधा चुनौती हो,” उनले बताएका छन्।
मादुरो गुएराले अमेरिकी अभियोगपत्रमा आफ्नो नाम समेत समावेश गरिएकोप्रति आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको हिस्सा भनेका छन्। साथै, उनले आफ्ना आमाबुवाको तत्काल रिहाइको मागसमेत गरेका छन्।
राष्ट्रपति मादुरोको पक्राउ प्रकरणले ल्याटिन अमेरिकी मात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिमा समेत चर्को बहस र प्रतिक्रिया उत्पन्न गरिरहेको बीबीसीले जनाएको छ।






