बालिका बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई अदालतबाट उन्मुक्ति दिएको भन्दै कलैयामा जेन्जी युथको प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

बारा, भदौ २८ । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनामा आरोपितमध्ये १० जनालाई अदालतले रिहा गरेको विरोधमा जेन्जी युथ बारा प्रदर्शनमा उत्रिएको छ।

बारा जिल्ला अदालतले बिहीबार घटनामा प्रतिवादी बनाइएका प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि त्यसको विरोधमा जेन्जी युथ बाराले कलैयामा प्रदर्शन गरेको हो।
जेन्जी युथ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा युवाहरूले प्लेकार्डसहित कलैया बजार परिक्रमा गरेका थिए। प्रदर्शनकारीहरूले कलैयाको मुख्य चोकमा पुगेर नाराबाजी गर्दै बालिका हत्या जस्तो गम्भीर घटनाका आरोपितलाई उन्मुक्ति दिनु गलत भएको बताएका थिए।

प्रदर्शनका क्रममा युवाहरूले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकालाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्नेमा समेत जोड दिएका थिए।

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र उनका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

अदालतको आदेशमा उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको उल्लेख गरिएको छ। मृतक बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो।

यसअघि घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले मुद्दाको पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको थियो। उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका भदौ २ गते घरनजिकै रहेको खाली घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा मृत फेला परेकी थिइन्। साउन ३१ गतेदेखि हराइरहेकी बालिकाको शव घरदेखि करिब एक सय मिटर दक्षिणतर्फ भेटिएपछि घटनाको विरोधमा परिवार र स्थानीय आन्दोलित भएका थिए।

घटनालाई लिएर देशभर विरोध प्रदर्शनसमेत भएको थियो। पीडित परिवार र सरकारबीच भदौ ६ गते तीनबुँदे सहमति भएपछि भदौ ७ गते कलैयाको पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो।

घटनाको अनुसन्धानका क्रममा एक नाबालकले बालिकालाई चकलेट खुवाएर बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको थियो। ती नाबालकको बयान घटनास्थल र शव भेटिएको अवस्थासँग मिल्दोजुल्दो रहेको प्रहरीको दाबी थियो।
यसैबीच, अनुसन्धानका क्रममा नाबालकले दिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन तथा विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको छ।

Leave a Comment