जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको सूचना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २३ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई अनुसन्धानका लागि सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

मंगलबार प्रकाशित सूचनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आवश्यक बयान लिनुपर्ने भएकाले तोकिएको अवधिभित्र विभागमा उपस्थित हुन भनिएको छ। विभागले उक्त सूचना भदौ आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको देउवा निवासमा समेत टाँसेको जनाएको छ।

जेनजी आन्दोलनपछि देउवा परिवार सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेको बताइएको छ। केही दिनअघि देउवा दम्पत्तिले उपचारका सिलसिलामा विदेशमा रहेको र साउन २६ गते नेपाल फर्किने जानकारी विभागलाई पत्रमार्फत गराएका थिए।

जयवीर देउवा पनि हाल परिवारसँगै विदेशमा रहेको बताइएको छ। उनीमाथि राजनीतिक पहुँचको दुरुपयोग गरी आफ्नो व्यवसाय विस्तार गरेको तथा आर्थिक अनियमिततामा संलग्न रहेको आरोप लाग्दै आएको छ।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद र राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा समेत उजुरी परेको छ।

Leave a Comment