बारा, असोज २ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाराका १६७ वटै वडामा हुने अधिवेशनको तयारी तीव्र पारिएको छ।
अधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले शुक्रबार कलैयामा विस्तारित बैठक गर्दै निर्वाचन प्रक्रिया, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनबारे छलफल गरेको छ।
कलैयास्थित करणराज होटलमा जिल्ला सभापति मनोज भट्टको अध्यक्षतामा बसेको बैठकमा आगामी महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा तहदेखि नै पार्टीका गतिविधि सक्रिय बनाउने विषयमा छलफल भएको हो।
बैठकमा वडा तथा स्थानीय तहका अधिवेशनको तयारी, कार्यकर्ताको सहभागिता, संगठन विस्तार तथा अधिवेशनलाई उत्साहपूर्ण रूपमा सम्पन्न गर्ने विषयमा नेताहरूले धारणा राखेका थिए। सहभागीहरूले अधिवेशनका क्रममा पार्टीका विभिन्न तहबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
केन्द्रीय प्रतिनिधिका रूपमा आएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले सहभागीहरूलाई निर्वाचन प्रक्रिया तथा आचारसंहितासहित अधिवेशनसम्बन्धी नियम र व्यवस्थाबारे जानकारी गराएका थिए।
बैठकले वडा अधिवेशनलाई लक्षित गतिविधिलाई थप तीव्रता दिँदै जिल्लाका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निष्कर्ष निकालेको छ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सूर प्रमुख अतिथिका रूपमा सहभागी थिए। केन्द्रीय सदस्यहरू मधु शाही ठकुरी, रामानन्द यादव, शम्भु बुढाथोकी र ममता शर्मा तथा संविधानसभा सदस्यहरू डा. शोभाकर पराजुली र लालबाबु सिंहको पनि सहभागिता थियो।
त्यसैगरी प्रदेश कार्यवाहक सभापति चन्द्रशेखर यादव, जिल्ला उपसभापति अमिरी पाल, सचिव भैयाराम यादव, क्षेत्र नम्बर १ का सभापति विजयशंकर यादव, क्षेत्र नम्बर ३ का सभापति प्रभात चौरसिया, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरू बैठकमा सहभागी भएका थिए।
जिल्ला सचिव राजेश रौनियारले सञ्चालन गरेको विस्तारित बैठकमा जिल्ला सदस्य तथा कांग्रेस नेतृ प्रियंका दासले स्वागत गरेकी थिइन्।

