रवि लामिछाने तीनदिने धार्मिक तथा पारिवारिक भ्रमणका लागि भारत जाँदै

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ५ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्। भ्रमणका क्रममा उनले परिवारसहित विभिन्न धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

लामिछानेको निजी सचिवालयका अनुसार उनी कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्न लागेका हुन्। भ्रमणलाई निजी, पारिवारिक तथा आध्यात्मिक यात्राका रूपमा लिइएको सचिवालयले जनाएको छ।

भारत भ्रमणका क्रममा लामिछानेले उत्तराखण्ड राज्यको नैनीतालस्थित प्रसिद्ध कैंची धाममा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसैगरी, आसाम राज्यको गुवाहाटीमा रहेको प्रसिद्ध कामाख्या मन्दिरमा पनि परिवारसहित दर्शन तथा पूजाआजा गर्ने तयारी रहेको छ।
धार्मिक स्थलहरूको भ्रमण र पूजाअर्चना सम्पन्न गरेपछि लामिछाने तीनदिने यात्रा पूरा गरी स्वदेश फर्किने उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमण निजी तथा पारिवारिक प्रयोजनका लागि तय गरिएको उल्लेख छ। भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट वा औपचारिक कार्यक्रम रहेको विवरण भने सार्वजनिक गरिएको छैन।

Leave a Comment