असोजमा भारतलाई ५ अर्ब ९२ करोडको बिजुली बिक्री, बंगलादेश निर्यात पनि सुरु

पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं, ८ कात्तिक। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारतलाई ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ।

बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् निर्यातबाट हुने आम्दानी गत वर्षको असोज र चालु आवको भदौको तुलनामा बढेको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३

करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
गत वर्षको असोजमा भारतलाई विद्युत् बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो।
तुलनात्मक रूपमा यस वर्षको असोजमा गत वर्षको सोही महिनाभन्दा ९६ करोड २० लाख रुपैयाँ र भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत् बिक्री भएको छ। चालु आवको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्री गर्दै आएको छ। यसबाहेक भारतको ऊर्जा विनिमय बजारमा डे-अहेड तथा रियल टाइम बजारमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बाढीका कारण निर्यात अनुमति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी बढेको हो। असोजमा निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो।
बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशमा हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। गत कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात नियमित भएको प्राधिकरणले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि विद्युत् निर्यात रोकिएको थियो।
पछि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न अनुमति दिएपछि पुनः बिक्री सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते पाँचवर्षे विद्युत् निर्यात सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश पठाउने व्यवस्था छ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन र प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सक्नु तथा बंगलादेशतर्फको बिक्री पुनः सुरु हुनु नेपालको क्षेत्रीय विद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको प्राधिकरणको भनाइ छ।
विद्युत् निर्यात क्षमता १ हजार १७९ मेगावाट पुग्यो
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएपछि भारततर्फ निर्यात गर्न स्वीकृत कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
देशभित्रको माग पूरा गरेपछि वर्षायाममा बचत हुने विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दै आएको नेपालले निर्यात बजार विस्तारसँगै उत्पादित विद्युत्को व्यवस्थापन र आम्दानी बढाउने अवसर पाएको छ।

Leave a Comment