बारा, कात्तिक ८। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा विषालु कोब्रा सर्पले डस्दा चार वर्षीय बालक आदित्य प्रसाद पालको मृत्यु भएको छ।
उनी भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पकडिया निवासी गजेन्द्र प्रसाद पालका छोरा हुन्।
प्रहरीका अनुसार आदित्य करिब एक महिनादेखि आमासँगै मामा घर विश्रामपुर गाउँपालिका–५ इटियाहीमा बस्दै आएका थिए। आइतबार साँझ करिब ५ः३० बजे मामा घरअगाडि खेलिरहेको अवस्थामा उनलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो।
सर्पले डसेपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा साँझ ६ बजे उनको मृत्यु भएको पुष्टि गरेका थिए।
घटनाबारे साँझ ६ः२७ बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुसहर्वा, बाराबाट प्रहरी नायब निरीक्षक मनोज साह सोनारको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार बालकका मामा जितेन्द्र कुमार पालले साँझ ७ः४० बजे नारायणी अस्पतालबाट शव घरमा ल्याएर राखेका थिए।

