काठमाडौं, असार २८ — मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरणमा संघीय सरकार, स्थानीय तह र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तापछि घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत तथा दोषीमाथि कारबाहीका विषयमा सहमति जुटेको हो।
सहमतिअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।
छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।
त्यस्तै, घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा विभागीय कारबाही गरिने सहमति भएको छ।
पीडित परिवारको राहतका लागि मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराउने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ। साथै आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने पनि सहमतिमा समेटिएको छ।
यसबाहेक गणेश नेपालीको अन्तिम संस्कार, आफन्तको यातायात तथा काठमाडौं बसाइ खर्च, शव बुझ्ने प्रक्रिया, पोस्टमार्टमलगायत सम्पूर्ण कानुनी प्रक्रिया सहज बनाउने जिम्मेवारी सम्बन्धित निकायले लिने सहमति भएको छ। परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था समेत संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलाउने जनाइएको छ।
सरकार र पीडित पक्षबीच भएको यो सहमतिसँगै घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउने प्रक्रियाले औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

गणेश नेपाली आत्मदाह प्रकरणमा सरकार–पीडित पक्षबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने
Leave a Comment
Leave a Comment

