इजरायलको प्रारम्भिक मतगणनामा नेतान्याहुको लिकुड पार्टी अगाडि, गठबन्धनलाई ६३ सिटको अग्रता

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक ११। इजरायलमा जारी आम निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता कायम गरेको छ।

२५.२ प्रतिशत मतगणना सम्पन्न हुँदा लिकुड पार्टी एक्लैले ३२ सिटमा अग्रता लिएको छ भने नेतान्याहु नेतृत्वको गठबन्धनले कुल ६३ सिटमा अग्रता बनाएको प्रारम्भिक विवरणले देखाएको छ।
प्रारम्भिक मतगणनाअनुसार विपक्षी नेता गादी आइजेन्कोट नेतृत्वको गठबन्धन ४९ सिटमा अगाडि छ।

त्यस्तै, अरब पार्टीहरू आठ सिटमा अगाडि देखिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले यी प्रारम्भिक रुझानमा परिवर्तन हुन सक्नेछ।
बलियो दक्षिणपन्थी सरकार बनाउने नेतान्याहुको दाबी
प्रारम्भिक मतगणनाको रुझान सार्वजनिक भएपछि लिकुड पार्टीको कार्यालय पुगेका नेतान्याहुले आफ्नो दल इजरायलको सबैभन्दा ठूलो पार्टीका रूपमा अगाडि आएको दाबी गरेका छन्। उनले एक्जिट पोलका अनुमानभन्दा वास्तविक मतपरिणामलाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
निर्वाचन प्रचारका क्रममा केही सञ्चारमाध्यमले लिकुड पार्टीले १८ देखि १९ सिट मात्रै जित्ने अनुमान गरेको उल्लेख गर्दै नेतान्याहुले त्यस्ता आकलनको आलोचना गरेका छन्। ती अनुमानले मतदातालाई मतदान गर्न निरुत्साहित गर्न खोजेको उनको आरोप थियो।
नेतान्याहुले आगामी सरकार बलियो दक्षिणपन्थी हुनुपर्ने बताएका छन्। अरब पार्टीहरूको समर्थनमा सरकार गठन गर्नु गलत हुने उनको भनाइ छ। उनले अरब पार्टीहरूमाथि इजरायलको अस्तित्वको विरोध गरेको र हमासप्रति नरम धारणा राखेको आरोपसमेत लगाएका छन्।
एक्जिट पोलमा बहुमतबारे अन्योल
निर्वाचनपछि सार्वजनिक गरिएका प्रारम्भिक एक्जिट पोलहरूले भने कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसक्ने सम्भावना देखाएका थिए।
इजरायली सञ्चारमाध्यम कान ११ र च्यानल १३ का एक्जिट पोलमा नेतान्याहुको गठबन्धन र आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले समान ५१–५१ सिट जित्ने अनुमान गरिएको थियो। च्यानल १२ को संशोधित एक्जिट पोलले भने नेतान्याहुको गठबन्धनलाई ५२ र विपक्षी गठबन्धनलाई ५० सिट दिने आकलन गरेको थियो।
प्रारम्भिक मतगणनामा नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि अन्तिम नतिजाले मात्रै संसद्मा शक्ति सन्तुलन र आगामी सरकार गठनको वास्तविक अवस्था स्पष्ट पार्नेछ।

Leave a Comment