एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै, दुवै टोलीको लक्ष्य जित

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक १२। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा जनकपुर पहिलो जितको खोजीमा हुनेछ भने काठमाडौं प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर यसपटक पहिलो खेलमै कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। त्यसैले दोस्रो खेलमा जित निकाल्दै अंकतालिकामा खाता खोल्नु जनकपुरका लागि महत्त्वपूर्ण हुनेछ।

जनकपुरको टोलीमा जिम्मी निशम, मोईन अली, कुशल परेरा र कप्तान हर्मित सिंहजस्ता अनुभवी विदेशी खेलाडी छन्। उनीहरूलाई नेपाली खेलाडी ललित राजवंशी र अनिल साहलगायतले साथ दिनेछन्। बलियो खेलाडी समूह हुँदाहुँदै पहिलो खेलमा बेहोरेको हारबाट पाठ सिक्दै टोलीलाई लयमा फर्काउनु जनकपुरको मुख्य चुनौती हुनेछ।
यता करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाज पहिलो खेलमै जित निकाल्ने योजनामा छ। टोलीमा अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको उपस्थितिले थप आकर्षण बढाएको छ। वार्नरसहित केएस भरत, विल बसिस्टो र साम हेजलेटजस्ता खेलाडीबाट काठमाडौंले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।
कप्तान करण केसीसँगै साहब आलम, राशिद खान र भीम सार्कीलगायतका खेलाडीले काठमाडौंको ब्याटिङ, बलिङ र फिल्डिङलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
दुवै टोलीको खेलाडी संरचना सन्तुलित देखिएकाले आजको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। जनकपुरका लागि अघिल्लो हारको दबाबबाट बाहिर निस्कनु चुनौती हुनेछ भने काठमाडौंलाई पहिलो खेलमै जित निकाल्दै आत्मविश्वास बढाउने अवसर छ।
एनपीएलमा यसअघि जनकपुर र काठमाडौं दुई पटक आमनेसामने भएका छन्। पहिलो संस्करणमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराएको थियो भने दोस्रो संस्करणमा काठमाडौंले पनि पाँच विकेटकै जित निकाल्दै हिसाब बराबर गरेको थियो।
आजको खेलमा दुवै टोलीबीचको प्रतिस्पर्धाले एकअर्काविरुद्धको जितको हिसाबलाई नयाँ मोड दिनेछ।

Leave a Comment