रौतहट, २४ फागुन। प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मधेश प्रदेशमा निकै कमजोर नतिजा व्यहोरेको छ। मधेशका ८ जिल्लामा रहेका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले जम्मा एक सिट मात्रै जित्न सफल भएको छ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार फिरदोश आलम विजयी भएका हुन्। उनले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा उम्मेदवार किरण साह ले १८ हजार ४२२ मत पाएका थिए।
मधेशमा कांग्रेसका धेरै शीर्ष नेताहरू चुनावी मैदानमा रहे पनि जित निकाल्न सकेनन्। यस्तो अवस्थामा रौतहट–२ बाट फिरदोश आलमले जित निकाल्दै मधेशमा कांग्रेसलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका छन्।
२०४३ साल मंसिर ५ गते जन्मिएका फिरदोश आलम कांग्रेस नेता स्वर्गीय अफताब आलम का जेठा छोरा हुन्। उनी नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन्। प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी सक्रिय राजनीतिमा लागेका थिए। साथै उनी चिकित्सक पनि हुन् र उनले बंगलादेशको ढाका विश्वविद्यालयबाट अध्ययन गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका थिए। तर यसपटक भने उनले उनै किरण साहलाई फराकिलो मतान्तरले पराजित गर्दै संसद् प्रवेश गर्न सफल भएका हुन्।
निर्वाचनमा विजयी भएपछि आलमले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

