प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। महासभामा उनले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ। उनको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीका रूपमा वाग्लेले सरकारका नियमित कार्यसम्पादन तथा आवश्यक निर्णय प्रक्रियाको नेतृत्व गर्नेछन्।

