विश्वकप सुरुवातमै कठिन चुनौती, नेपाल आज इङल्यान्डविरुद्ध मैदानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, माघ २५ (आइतबार)
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको दशौँ संस्करणमा आजबाट आफ्नो अभियान सुरु गर्दैछ। पहिलो खेलमै नेपालले दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

मुम्बइस्थित वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे नेपाल र इङल्यान्डबीचको खेल सुरु हुनेछ। समूह चरणका आफ्ना चारवटै खेल नेपालले वानखेडे मैदानमै खेल्ने तालिका छ।

यो नेपालका लागि तेस्रो टी–२० विश्वकप सहभागिता हो भने लगातार दोस्रो संस्करण हो। अघिल्लो संस्करणका अनुभवी खेलाडीसँगै यसपटक नयाँ खेलाडीहरूको संयोजन नेपाली टोलीमा देखिएको छ। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्यु गर्ने तयारीमा छन्।

सोमपाल कामी भने नेपालले खेलेका तीनवटै टी–२० विश्वकपमा सहभागिता जनाउने एकमात्र खेलाडी बन्ने संघारमा छन्। कप्तान रोहित पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।

इङल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीले शनिबार पूर्ण विश्राम पाएको थियो। विश्वकप तयारीका क्रममा नेपालले युएई र क्यानडासँग खेलेका दुवै आधिकारिक वार्मअप खेलमा जित निकाल्दै उच्च आत्मविश्वास बनाएको छ। भारत र श्रीलंकामा अभ्यास गरेको नेपाली टोली उत्साहका साथ मैदान उत्रने तयारीमा छ।

सन् २०१० र २०२२ को विश्वकप उपाधि जितेको बलियो टोली इङल्यान्ड नेपालविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। इङल्यान्डले यस खेलका लागि आफ्नो प्लेइङ–११ शनिबार नै सार्वजनिक गरिसकेको छ।

नेपाल रहेको समूहमा इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली छन्। इटाली टी–२० विश्वकपमा पहिलो पटक सहभागी हुँदैछ भने स्कटल्यान्ड सन् २०१६ यता लगातार विश्वकप खेल्दै आएको टोली हो। बंगलादेशले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि वरियताका आधारमा स्कटल्यान्डले स्थान पाएको हो।

विश्वकपको पहिलो दिन शनिबार तीन खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हराएको थियो।

आइतबार पनि प्रतियोगितामा तीन खेल हुनेछन्। दिनको पहिलो खेलमा समूह ‘डी’ अन्तर्गत अफगानिस्तान र न्युजिल्यान्ड आमनेसामने हुनेछन्।

Leave a Comment