एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक २६। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। पाँच खेल खेलेको विराटनगरले दुई जित र तीन हारसहित चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ। पोखरा भने पाँच खेलमध्ये एकमा मात्र जित निकाल्दै दुई अंकसहित तालिकाको पुछारमा छ। त्यसैले आजको खेल दुवै टोलीका लागि अंक तालिकामा सुधार गर्ने अवसर हुनेछ।
यसैगरी, आजै दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको कर्णाली चार अंकसहित सातौं स्थानमा छ।
यता लुम्बिनीले पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ। वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँडेको लुम्बिनी सात अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।
आजका दुवै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पार्ने भएकाले टोलीहरू जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

Leave a Comment