निजगढमा मोटरसाइकल दुर्घटना : पछाडि सवार २४ वर्षीय राहुलको मृत्यु

पढ्न लाग्ने समय : 1 मिनेट

बारा, मंसिर १ । बाराको निजगढमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार २४ वर्षीय राहुल सहनीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।

प्रहरीका अनुसार मंसिर ३० गते साँझ करिब ५ः२० बजे निजगढ नगरपालिका–११ बम्जन टोलस्थित तपस्या स्थलको भित्री सडकखण्डमा दुर्घटना भएको हो। रतनपुरबाट कोल्हवीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कोल्हवी नगरपालिका–७ दोधर्पा निवासी २३ वर्षीय चालक जंगी सहनीको हात र खुट्टामा चोट लागेको छ। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय राहुल सहनीको छातीमा चोट लागेको थियो। प्रारम्भिक प्रहरी विवरणअनुसार दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए।

घाइते दुवैलाई सुरुमा निजगढस्थित सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा राहुललाई गण्डक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ साँझ ६ः२० बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले राति १०ः२० बजे मोटरसाइकल चालक जंगी सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ। दुर्घटनामा परेको मोटरसाइकल र त्यसका कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment