काठमाडौं, २८ साउन — सरकारले हाल लागू रहेको सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल परिवर्तन गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेको छ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहका तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दुई दिने बिदा व्यवस्था तत्काल पुनरावलोकन गर्ने विषयमा सरकारले कुनै गृहकार्य नगरेको बताइन्।
सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिन बिदा दिने निर्णयले शिक्षा, व्यापार तथा सरकारी सेवामा असर परेको भन्दै यसलाई खारेज गरी पुनः सातामा एक दिन मात्र सार्वजनिक बिदा दिने व्यवस्था गर्न माग गरेका थिए।
जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा देखिएको इन्धन आपूर्तिको असहजतालाई ध्यानमा राख्दै इन्धन खपत घटाउने र सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि दुई दिने बिदा लागू गरिएको जानकारी दिइन्।
उनका अनुसार यस व्यवस्थाले कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको सरकारको निष्कर्ष छ।
सरकारले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई समेत सहज भएको दाबी गरेको छ। साथै, आन्तरिक पर्यटकको संख्या बढ्दा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको मन्त्री गौतमले बताइन्।
सांसदहरूले दुई दिने बिदाका कारण पाठ्यक्रम समयमै नसकिने, विद्यार्थीमा असुरक्षा बढ्न सक्ने तथा सरकारी सेवामा सुस्तता आउन सक्ने विषय उठाएका थिए।
यसको जवाफमा मन्त्री गौतमले विद्यार्थीको समग्र विकासका लागि विद्यालयभित्रको शिक्षासँगै सामाजिक घुलमिल, खेलकुद र सिर्जनशील गतिविधिलाई पनि महत्व दिनुपर्ने धारणा राखिन्।
उनले भनिन्, “हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै गृहकार्य भएको छैन। यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउनेछ।”
सरकारको यो भनाइसँगै तत्कालका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कायमै रहने देखिएको छ।
साप्ताहिक दुई दिन बिदा तत्काल नहट्ने, परिवर्तनबारे कुनै तयारी छैन
Leave a Comment
Leave a Comment

